अन्तराष्ट्रिय आरोग्य दिवस
अन्तराष्ट्रिय आरोग्य दिवस
सल्लेरीमा योगा गरेर मनाइयो अन्तर्राष्ट्रिय आरोग्य दिवसःप्रजिअ केसीद्वारा स्वस्थ जीवनशैलीमा जोड

सोलुखुम्बुः सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित योङ स्टार कभर्ड हलमा योगा अभ्यास कार्यक्रमको आयोजना गरी पहिलो अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको आयोजनामा भएको यस कार्यक्रममा जिल्लाका सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेपछि देशभर नै आज विभिन्न जनचेतनामूलक कार्यक्रमहरू भइरहेका छन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले वर्तमान समयमा मानिसको बदलिँदो जीवनशैली र व्यस्तताका कारण शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर चुनौतीहरू थपिएको बताउनुभयो। उहाँले आरोग्य प्राप्त गर्नु भनेको रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ रहनु रहेको चर्चा गर्दै दैनिक जीवनमा योग र ध्यानलाई अनिवार्य बनाउनुपर्नेमा जोड दिनुभयो। प्रजिअ केसीले जिल्ला प्रशासन र स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै आयुर्वेद र प्राकृतिक चिकित्साका माध्यमबाट निरोगी समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वस्थ नागरिकबाट मात्रै समृद्ध जिल्ला र राष्ट्रको परिकल्पना सम्भव हुने भएकाले प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्ने सन्देश दिनुभयो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्याम बाबू यादवले यस दिवसको महत्वमाथि प्रकाश पार्दै नसर्ने रोगहरूको बढ्दो भारलाई न्यूनीकरण गर्न योग र प्राकृतिक उपचार नै अचुक औषधि भएको बताउनुभएको थियो। उहाँले नेपाली भान्छामा प्रयोग हुने अदुवा, बेसार, धनियाँ र जवानु जस्ता मसलाहरूको वैज्ञानिक महत्व रहेको र आहारविहारमा सामान्य सुधार गर्दा पनि धेरै रोगबाट बच्न सकिने जानकारी दिनुभयो। नेपाललाई विश्वकै ’आरोग्य हब’ का रूपमा विकास गर्न सकिने सम्भावना रहेको औंल्याउँदै उहाँले सरकारले हाल प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्रमार्फत सेवा विस्तार गरिरहेको बताउनुभयो।
बिहानै ब्रह्म मुहूर्तमा उठ्ने, सूर्योदयअघि योग गर्ने र मौसमी सन्तुलित खानपान अपनाउने हो भने नसर्ने रोगहरूको जोखिम निकै कम हुने विज्ञहरूको भनाइ छ। सोलुखुम्बुमा आयोजित यस कार्यक्रमले स्थानीय स्तरमा नसर्ने रोगबारे जनचेतना जगाउन र योग तथा ध्यानलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा योग र प्राणयामका विभिन्न आसनहरूको अभ्यास समेत गरेका थिए।